शुक्रबार, भदौ २६, २०८३

दसैंमा समेत सुनसान छन् वीरगञ्जका पसल

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

वीरगञ्ज- बडादसैं आएसँगै वीरगञ्ज बजारमा चहलपहल बढेपनि यहाँ सञ्चालित सबै पसल प्रायः सुनसान नै देखिन्छन्।

सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान सहजै नेपाल भित्रिन थालेपछि वीरगञ्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन्।

भन्सारमा लाग्ने करले गर्दा वीरगञ्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ। सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिद गर्छन्। वीरगञ्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ। उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगञ्जका आधी पसल बन्द हुने बताए।

गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए। दसैँतिहारका बेला सबैभन्दा बढी खरिद बिक्री हुने टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलोट्रोनिक्सका सामानको कारोबार गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशतले घटेको खुद्रा व्यापारी विकासकुमार अग्रवालले जानकारी दिए। उनले दिनप्रतिदिन खस्किँदै गएको खुद्रा कारोबारलाई जोगाउन सरकारले आर्थिक नीतिमा सुधार ल्याउन जरुरी रहेको बताए।

कोरोना महामारीका कारण थलापरेको नेपाली अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै आएको आर्थिक मन्दीले समग्र नेपाली अर्थतन्त्र नै अप्ठ्यारोमा परेको बेला नेपाली अर्थतन्त्रलाई सही दिशातर्फ डोहोर्याउन सरकारले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने व्यापारी बताउँछन्।

प्रकाशित: Oct 19, 2023| 19:55 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्