महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी हुन्।
गत असोज ७ गते दिउँसो गौशालाको एनआइसी एसिया बैंकबाट गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार झिकेर घरतर्फ जाँदै गर्दा लुटिएको थियो। छोरी पुनिता देवी महतोले ओखलढुंगाबाट आमा सुजर्कला देवीको खातामा सो रकम पठाएकी थिइन्।
दुवैजना पैसा निकालेर घर फर्किरहेको बेला दिउँसो २ बजे गौशालाकै हाइस्कुल नजिकबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक युवकले रकम भएको झोला खोसेर फरार भएका थिए। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दा रमेश सहनीले सो रकम लुटपाट गरी भागेको खुलेको छ।