सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक व्यक्ति छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पक्राउ परेका छन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।
रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनलाई मुसिकोट नगरपालिका-७ साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा पक्राउ गरिएको हो। गत असोज ३० गते बिहान खलंगाको सत्कार होटलमा हत्या गरिएको अवस्थामा भावनाको शव फेला परेको थियो। उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेपछि शवलाई शिरकले छोपेर राखिएको अवस्थामा भेटिएको थियो।
प्रहरी अनुसन्धानका अनुसार लोकबहादुर र भावना असोज २८ गते सोही होटलको कोठा बुक गरी बसेका थिए। त्यसको भोलिपल्ट कोठामा ताला लगाएर लोकबहादुर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। सोही दिन पक्राउ परेका लोकबहादुरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। विक गत असोज ३ गते राष्ट्रपतिबाट कैद माफी पाएर जेलमुक्त भएका थिए।
प्रहरीका अनुसार भावनाका श्रीमान् र लोकबहादुरकी श्रीमती वैदेशिक रोजगारमा छन्। लोकबहादुर र भावनाबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भावनाले आफू गर्भवती भएका कारण विवाहको प्रस्ताव गरेकी थिइन्। सोही कारण आफूले उनको हत्या गरेको लोकबहादुरले प्रहरीसँगको बयानमा बताएका छन्।
उनीहरूबीच आर्थिक लेनदेनको पनि विवाद रहेको प्रहरीले जानकारी दिएको छ। भावनाको श्रीमानलाई वैदेशिक रोजगारमा पठाउन आफूले केही रकम दिएको र त्यो फिर्ता माग्दा भावनाले नदिएको लोकबहादुरले प्रहरीसँग बताएका छन्।
भावना र लोकबहादुरको चिनजान गत मंसिरबाट मात्रै भएको रहेछ। प्रहरीका अनुसार गत मंसिरको निर्वाचनमा म्यादी प्रहरीमा भर्ती भएकी भावना लोकबहादुरको घर क्षेत्रमा खटाइएकी थिइन्। त्यही समयमा चिनजान र प्रेम भएको थियो। त्यहीबीचमा लोकबहादुर जेल परे। उनलाई बहुविवाह मुद्दामा रूकुम पश्चिम जिल्ला अदालतले ११ महिना जेल सजाय सुनाएको थियो।
भावना लोकबहादुरलाई भेट्न पटक-पटक जेल पनि गएको प्रहरी अनुसन्धानबाट भेटिएको छ।
६ महिना कैद भुक्तानी गरेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि उनी जेलमुक्त भएका थिए।