धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढीको सहिद गेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहित तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी छन्।
उनीहरूको साथबाट प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ। लागु औषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोशाकको टोलीले संयुक्त रूपमा अप्रेशन गरेको हो।
मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द पनि होटलको कोठामा उनीहरू सँगै भेटिएका थिए। तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।