कमलामाई- स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन। खान नपाउँदा तलतलै लाग्छ। 'दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,' उनले भनिन्।
तामाङ हिजो मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका-५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिएकी थिइन्।
जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक-चोकमा व्यवसायी ठेलागाडामा चटपटेका सामान राखेर बिक्रीका गर्न बस्छन्। साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्छन्। उनीजस्तै चटपटे, पानीपुरी खाने ग्राहकको रहरलाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ। ठेलागाडामा चटपटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन्।
चटपटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौडा, कचौडी एकै ठाउँमा राख्न थालेका छन्। ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ। जति नै प्रकारका खानेकुरा बोके पनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिब्रोमा च्वास्सै लाग्ने चटपटे र ट्वाक्क परेको पानीपुरी हो। यसको व्यापार सदाबहार हुने व्यवसायी समिरा सुब्बाले बताइन्।
'चटपटे, पानीपुरी सबैले मन पराउँछन्,' विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,' उनले भनिन्।
दुधौली नगरपालिका-११ पत्रिङ्गामा उनको घर छ। पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आएकी सुब्बाले आफ्नो कोठा नजिकै चटपटे व्यापार गर्न थालेको दुई वर्ष पुग्नै लाग्यो।
एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्किन्छिन्। साँझ ६ बजेसम्म ठेलागाडामा चटपटे, पानीपुरी बेच्न खटिन्छिन्। यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जो कोहीले गर्न सक्ने उनको बुझाइ छ। उनले २५ हजारबाट व्यवसाय सुरु गरेकी हुन्।
'पन्ध्र महिनाअघि २० हजार ठेलागाडा र पाँच हजार चटपटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिएँ,' उनले भनिन्, 'व्यापार, व्यवसायले हामीलाई आत्मनिर्भर बनाउने रहेछ। दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान घरैमा हुनुहुन्छ। चारजना परिवारको खर्च यसैको कमाइले टारिराखेको छु।'
३० हजारको लगानीमा सुरु भएको चटपटे व्यवसायबाट मासिक ४० हजार बचत हुने मुकेश चौधरीले बताए। पढाइमा ५ कक्षा उत्तीर्ण नगरेका चौधरीले सिन्धुलीमाडी बजारमा चटपटे व्यापार गरेरै १५ वर्ष बिताइसकेका छन्।
२० हजार रूपैयाँको ठेलागाडामा चटपटे, पानीपुरीको सामान, पकौडा, आलुचप, चनासहितको खाजासेट तयार गर्न ग्यास चुलो राखिएको हुन्छ। सोही ठेलागाडा ठेल्दै उनी मधुटारदेखि लोकतान्त्रिचोक, १ नं बजार, गैरीबजार हुँदै २ नं बजारसम्म पुग्छन्। बजारमा कपडा, खाद्यान्न, तरकारी, भाँडाकुँडालगायत व्यापार गर्न बसेका अधिकांश व्यापारी उनको ठेलामा तयार भएका खानेकुरा खान रुचाउँछन्।
दिउँसोको खाजा खाने समयमा जीवनसंगिनी रानीदेवी चौधरी र उनलाई धौधौ नै पर्छ। रानीदेवीका अनुसार उनकोमा दैनिक ५० देखि एक सयजना बढी खाजा खाने ग्राहक हुन्छन्। ठेलागाडामा गरेको व्यवसाय भए पनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उनको बुझाइ छ। 'चटपटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ। गेडागुडी, काँक्रो, बन्दाकोभी, आलुचप, कचेडी, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाउँ-खाउँ लाग्ने बनाउनुपर्छ,' व्यवसायी रानीदेवीले भनिन्।
व्यापार, व्यवसाय गर्नेहरुले आफ्ना सेवाग्राहीलाई माया गर्न जरुरी रहेको व्यवसायी मुकेशको बुझाइ छ। त्यसैले आफ्नो पसलको नाम ‘लभ्ली चटपटे, पानीपुरी पसल’ राखेको बताए। यस पसलले चौधरी दम्पती स्वरोजगार मात्रै भएका छैनन्, आम्दानीबाट सिन्धुलीमाडीको धुराफाँटमा सात धुर घडेरी जोडिसकेका छन्। महोत्तरीमा दुई धुर घडेरी किनेर एकतले पक्का घर बनाइसकेको चौधरी दम्पती बताउँछन् । तीन छोरा र एक छोरीको पढाइ खर्चसहितका सबै खर्च यसैबाट चलेको छ।
बाहिरी जिल्लाबाट सिन्धुली आएर चटपटे, पानीपुरी मात्रै व्यापार गरेर आफ्ना सन्तानलाई बोडिङमा पढाउनेलगायतका सबै खर्च टारेर घरजग्गा जोड्ने चौधरी दम्पती त प्रतिनिधि पात्र मात्रै हुन्। यस्ता उदाहरण जिल्लामा अरू पनि थुप्रै छन्।
२५ वर्षे रवि शाहले चटपटे, पानीपुरी व्यापारमा आफ्नो वर्तमानमात्र नभएर भविष्य पनि देखेका छन्। बाजे र बुबाले गरेको पेसालाई उनले निरन्तरता दिएका हुन्। १० जना परिवारको जीविका यही व्यापार, व्यवसायबाट चलेको उनले बताए।
'जागिर गर्दा अरूको चाहनामा चल्नुपर्छ। आफ्नो व्यापार, व्यवसायको आफै मालिक हो। कसैको दबाबमा काम गर्नु पर्दैन। आफ्नो इच्छा, चाहना र खुसीअनुसार मन लागेको गर्न पाइन्छ। यसमा स्वतन्त्रता हुन्छ, स्वाभिमानसहितको सम्मानित जीवन बिताउन पाइन्छ,' युवा व्यवसायी शाहले सुनाए।
उनका अनुसार सिन्धुलीमाडीमा चट्पटेको व्यापार सुरु गर्ने पहिलो व्यवसायी आफ्ना हजुरबा लक्ष्मण र बुबा महन्त शाह हुन्। २०३२ सालमा उनीहरुले सुरु गरेको व्यवसायलाई छोरा नातिले समेत पछ्याउँदै आएका छन्।
व्यवसायबाट बाबु-बाजेले सबै परिवारको खर्च टारेर घरजग्गा लगायतका सम्पति जोड्न सफल भएकाले आफूहरुले पनि यसैमा भविष्य देखेको युवा व्यवसायी शाहको भनाइ छ।
३० वर्षदेखि सिन्धुलीमाडीमा चटपटे बेच्दै आएका सीतादेवी ठाकुर र कमला चौधरी पछिल्लो समय चटपटे, पानीपुरी व्यापार, व्यवसायमा समस्या, चुनौती थपिएका धारणा राख्छन्। सामान महँगिएकाले व्यापारबाट पहिलाजस्तो आम्दानी लिन नसकेको, व्यापारी र व्यवसायी बढेकाले एकअर्कामा प्रतिस्पर्धा हुने गरेको, सेवाग्राहीहरु मीठो, सस्तो, गुणस्तर खोज्ने र बजारमा प्रतिस्पर्धा गरेर बेच्नु परेकाले पहिलाको भन्दा आम्दानी घटेको उनीहरुले बताए।
बजार क्षेत्रमा ठेलागाडामा चटपटे, पानीपुरी व्यापार गर्ने व्यवसायीहरुलाई नगरपालिकाले विभिन्न बहानामा दुःख दिने गरेकोसमेत उनले गुनासो गरे। सानो लगानीमा सुरु गर्न सकिने र खाजाका रुपमा अधिकांश व्यक्तिको रोजाइमा पर्ने पिरो, अमिलो चटपटे, पानीपुरी व्यवसाय जिल्लामा फस्टाउँदै गएको छ।
सिन्धुलीको सिन्धुलीमाडी, खुर्कोट, ढुङ्ग्रेवास, चियाबारी, नयाँखर्क, मूलकोट, डकाहा, दुधौली, मरिणलगायत जिल्लाभरका मुख्य-मुख्य चोकमा चटपटे, पानीपुरीको व्यापार बढेको छ। यसबाट व्यवसायीले आकर्षक आम्दानीसमेत दिँदै आएका छन्। -रासस