शनिबार, जेठ २३, २०८३

भादगाउँ सहलगानी खानेपानी आयोजनाको पाइप बिछ्याइयो

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

तनहुँ- व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा सञ्चालित भादगाउँ सहलगानी खानेपानी आयोजनाको ५२ किमी दुरीमा पाइप बिछ्याइएको छ। व्यास नगरपालिका-१ भादगाउँ र व्यास- १२ का एक टोलमा गरी शाखा लाइनमा खानेपानीको पाइप बिछ्याउने कार्य गरिएको सो संस्थाले जनाएको छ।

National life

आयोजनाको हालसम्म ७० प्रतिशत कार्यप्रगति देखिएको छ। मादी नदी किनारमा पम्प हाउस निर्माण, गार्ड हाउस निर्माण र विद्युत् ट्रान्समिटरलगायत करिब ३० प्रतिशत कार्य बाँकी रहेको छ।

नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी आयोजनाको निर्माण अघि बढाइएको संस्थाका व्यस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पराजुली कन्स्ट्रक्सनले सम्झौता अनुरुप काम गर्न नसकेकाले  छ महिनाको लागि म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ।

उक्त संस्थाले व्यास-४ चुरेखोल्सीस्थित मादी नदी किनारबाट लिफ्ट गरी करिब पाँच किमी लामो दुरीदेखि पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए।

Shivam cement

मादी नदीबाट लिफ्ट गरी ल्याइएको पानी व्यास नगरपालिका-१ को अमिली भञ्याङमा चार लाख लिटर र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिर्जभ ट्यांकी निर्माण गरी पानी संकलनपश्चात् वितरण गरिनेछ। विश्व स्वास्थ्य संगठनले नमुना खानेपानी संस्था निर्माणका लागि नेपालको ४२ हजार खानेपानी संस्थामध्ये यो खानेपानी संस्था दस वटा संस्थाभित्र छनोट हुन सफल भएको छ।

विश्व स्वास्थ्य संगठनको खानेपानीसम्बन्धी अवधारणा अनुरुप अहिले उन्नाइस करोड रूपैयाँको लागतमा उक्त आयोजनाको काम भइरहेको संस्थाका कोषाध्यक्ष विष्णुबहादुर बस्नेतले जानकारी दिए।

समितिले ट्यांकी निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गर्न थालिसकेको छ।

समुद्री सतहदेखि करिब सात सय मिटर उचाइमा निर्माण गरिने ट्यांकीमा पानी संकलन गरी आम उपभोक्ताको घरघरमा वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए। मादी नदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको भारक्षमता रहने बताइएको छ। पानी संकलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण यसअघि नै सम्पन्न भइसकेको छ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भइ ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार छ सयभन्दा बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ। व्यास नगरपालिका-१३ स्थित करादी खिरखादी मुहानदेखि करिब तेह्र किमी लामो दुरीबाट ल्याइएको पानी हाल साना ठूला गरी तीनवटा योजनाबाट उपभोक्तामाझ संस्थाले खानेपानी आपूर्ति गर्दै आएको छ। 

उक्त संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी संकलन गरी व्यास-१ का २५ टोल र व्यास-१२ को १ टोलका उपभोक्तालाई वितरण गर्दै आएको थियो। यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएको र हालको पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रुपमा मादी नदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माणकार्य अघि बढाएको हो। संस्थाले हाल दुई हजार छ सय ८० घरधुरीमा पानी वितरण गर्दा २१ हजार बढी मानिस लाभान्वित हुँदै आएको जनाएको छ। 

प्रकाशित: Oct 18, 2023| 19:38 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्