बिहीबार, असार १९, २०८२

श्रमस्वीकृतिका लागि फाराम भर्न काठमाडौं जाने झन्झट हट्यो

 |  बुधबार, कात्तिक १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

vianetvianet

कञ्चनपुर- ६ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजगारीमा जाने तरखरमा छन्। श्रम स्वीकृतिका अनलाइन फाराम नगरबाटै निःशुल्क भर्न पाइने भएपछि उनी निकै खुसी देखिन्छन्।

पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा आग्रीले काठमाडौंस्थित वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिका लागि मेनपावर कम्पनीका कर्मचारीको सहयोगमा फाराम भरेका थिए।

'श्रम स्वीकृतिका लागि फाराम भर्दा सम्पूर्ण व्यक्तिगत विवरण त्रुटिपूर्ण थिए', उनले भने, 'तर अहिले नगरपालिकामै स्वयं उपस्थित भएर तथ्यपरक विवरण फाराममा भर्न लगाएका छौंँ, फाराम भर्नकै लागि काठमाडौं जाने झन्झट पनि हटेर गएको छ।'

श्रम स्वीकृतिका लागि फाराम भर्नकै लागि काठमाडौं जानुपर्दा निकै खर्च गर्नुपर्ने झन्झट,बसमार्फत जाँदा सडक अवरुद्ध हुँदाको सास्ती, होटेलको खर्च निकै हुन्थ्यो', अर्को मलेसिया जान श्रम स्वीकृतिका लागि नगरपालिका पुगेका अर्का हरिश आग्रीले भने, 'सेवाग्राहीको चापले बिहान ४ बजे लाइमा बस्दा पनि पालो पाइँदैनथ्यो, फेरी दोस्रो दिनका लागि कुर्नु पर्दथ्यो, दलाललाई पैसा नदिए कामै हुन गाह्रो हुन्थ्यो।'

अहिले नगरपालिकामै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था हुँदा सहज भएको उनले बताए। वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहको रोजागार शाखाबाटै भर्न सकिने व्यवस्था रहेको त्यहाँका प्राविधिक सहायक धीरज ऐरले बताए।

चालु आवको बैशाखदेखि पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृतिका लागि आवेदन लिन थालिएको छ। यो सेवा सञ्चालन भएपछि यस शाखाबाट ३२ जनाले श्रम स्वीकिृतिका लागि आवेदन भरेका छन्।

आवेदन भर्नेहरुमा पुरुषको संख्या अधिक र महिलाको संख्या न्यून रहेको छ। श्रम स्वीकृतिका लागि फारम भर्न आउनेमा मलेसिया, दुबई, साउदी अरेविया, कतार, संयुक्त अरब इमिरेटस, कुवेत, बहराइन, पोर्चुगललगायत देशमा  रोजगारीमा जाने रहेका छन्।

'राहदानी, वैदेशिक रोजगारीमा पठाउने कम्पनीसँगको सम्झौतापत्र, भिजा, स्वघोषणापत्र, बैंक चेक, नागरिकताको प्रमाणपत्र, इच्छाएको व्यक्तिको नागरिकता, बीमा गरेको कागजात, सामाजिक कोषसँगको आबद्धता हेरेर मात्रै आवेदन भर्ने गरेका छौँ' रोजगार शाखका प्राविधिक सहायक ऐरले भने, 'वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानीबारे समेत सम्झाउने बुझाउने गरेका छौंँ।' रोजगारदाता, रोजगारीमा जाने व्यक्ति र इच्छाएका व्यक्तिको नाम र ठेगानासंँगै सम्पर्क नम्बर पनि राखिने भएकाले विदेशमा अप्ठेरो परे सहयोग गर्न सकिने उनले बताए।
 
वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो र सहज बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाईनमार्फत फाराम भर्ने व्यवस्था गरिएको रोजगार शाखाका संयोजक कृष्ण भट्टले जानकारी दिए।

उनका अनुसार श्रम स्वीकृति लिएसँगै कल्याणकारी कोषका लागि एक हजार पाँच सय रूपैयाँ, सामाजिक सुरक्षा कोषका लागि रु दुई हजार दुईसय बुझाउनुपर्ने हुन्छ। यसैगरी, १८ वर्षदेखि ३५ वर्ष समूहका लागि तीन हजार सात सय आठ, ३६ देखि ५० वर्ष समूहका लागि चार हजार नौ सय रूपैयाँ शुःल्क निर्धारण गरिएको छ। सेवाग्राहीले शुःल्क खल्ती एप तथा ई सेवाबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: Oct 18, 2023| 20:32 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्