काठमाडौं- हरेक वर्ष वर्षातको समयमा क्षति हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहान नै सार्नुपर्ने एसियाली विकास बैंक (एडीबी) ले सुझाएको छ। मेलम्ची आयोजनाको सम्भावित जोखिमबारे दुई वर्ष लगाएर अध्ययन गरेको एडीबीले मुहान सार्न सुझाएको हो।
एडीबीले विस्तृत अध्ययन गरेर मुहान सार्न प्रतिवेदन पेस गरेको मेलम्ची खानोपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन्। उनका अनुसार एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने छ।
'२०७८ असारमा बाढी गएपछि त्यसको सम्भावित कारण र आगामी वर्षमा बाढीले पुर्याउने सम्भावनाको विषयमा विस्तृत अध्ययन भएको थियो। यो अध्ययन दुई वर्ष लगाएर भएको छ,' पन्तले भने, 'सर्कथली भन्ने ठाउँमा मुहान सार्ने प्रस्ताव भएको छ। अहिलेको ठाउँभन्दा एक किलोमिटर भित्र नै छ त्यो ठाउँ। अहिलेको मुहानमा बाढीले क्षति पुर्याएको छ। अझै क्षति पुर्याउने सम्भावना पनि छ।'
अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स क्षेत्रको भू–बनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। अहिलेको मुहानबाट बाह्रै महिना काठमाडौंमा पानी पठाउन नसक्ने भएपछि यसको विकल्प खोज्न दातृ निकायले आग्रह गरेको पन्तले बताए।
सरकारले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने पन्त बताउँछन्। सरकारको निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ।
बाढीले गर्दा अहिले पनि एक करोडभन्दा बढीको क्षति वर्षेनि हुने गरेको छ। २०५८ सालमा नेपाल सरकार र एडीबीबीच आयोजनाका लागि ऋण सहमति भएको थियो। तर, त्यसको १३ वर्षपछि २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल आइपुगेको थियो।
एडीबीको ऋणमा बनेको यो आयोजना तोकिएको मितिभन्दा ढिलो बन्दा पनि पाँच अर्ब रुपैयाँ बढी लागत बढेको थियो। यो आयोजनामा नेपाल सरकारको ९५ मिलियन अमेरिकन डलर, एडीबीको ऋण २०७.४ मिलियन अमेरिकी डलर र वैदेशिक अनुदान १०.५ मिलियन अमेरिकी डलर रहेको छ।