शनिबार, जेठ ३०, २०८३

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

पर्वत- मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ। सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो। केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन्। 

National life

पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिए। पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उनको गुनासो छ। 

त्यसैगरी, कुश्मा वडा नं १ पाङको फाँट, वडा नंं ९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ। यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरूले बताएका छन्। फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिए।

कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्‍याएको क्षतिबारे विवरण संकलन भइरहेको जानकारी दिए। उनले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण संकलनको काम भइरहेको बताए। 

‘हामी पनि अनुगमनमा पुगेका थियौ’, अधिकारीले भने, ‘धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठूलो क्षति हुन भने पाएन।’ क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताए। 

Shivam cement

जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेँलपुर भइसकेको छ। कृषक दसैँको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन्। पर्वतको मुख्य बालीका रुपमा धानबाली हो। जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। 

प्रकाशित: Oct 18, 2023| 22:02 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्