बिहीबार, जेठ २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दसैंमा जन्मघर जान सेना र सशस्त्रका सुरक्षाकर्मीलाई गाडी सुविधा

दसैंमा जन्मघर जान सेना र सशस्त्रका सुरक्षाकर्मीलाई गाडी सुविधा

आ–आफ्ना कर्मचारीलाई दसैंमा घर आउजाउ सहज बनाउने उद्देश्यले बस तथा हवाई सेवा उपलब्ध गराइएको दुवै संगठनले बताएका छन्।
 |  बुधबार, कात्तिक १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

vianetvianet

काठमाडौं– नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैंका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ। आ–आफ्ना कर्मचारीलाई दसैंमा घर आउजाउ सहज बनाउने उद्देश्यले बस तथा हवाई सेवा उपलब्ध गराइएको दुवै संगठनले बताएका छन्।

सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्रले निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ।

सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादसैंमा घर जाने नेपाली सेनाका बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको हो।

निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन्। यस्तै, सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत ६ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकल दर्जा एवं आश्रित परिवारले सेवा पाएको सेनाले बताएको छ। उक्त सुविधा सेनाले २ कात्तिकसम्म उपलब्ध गराउनेछ। 

सशस्त्र प्रहरीले निःशुल्क सुरु गरेको बस सेवा आगामी २ कात्तिकसम्म सञ्चालन हुने जनाएको छ। सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादसैं, तिहार र छठ अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र तिनका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ।

National life insurance

चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्नेछ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताए।

यसअघि सशस्त्र प्रहरीले बडादसैं अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।

प्रकाशित: Oct 18, 2023| 11:15 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्