शनिबार, भदौ २७, २०८३

इजरायल घटना

दश दिन बित्दा पनि पहिचान भएन पाँच नेपालीको शव

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

दक्षिण इजरायलको किबुज अलुमिममा गत असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव अझै पहिचान हुन सकेको छैन। दश दिन बित्दा पनि शव पहिचान हुन नसक्दा नेपाल ल्याउन ढिलाइ हुने भएको छ।

बाँकी पाँच शवको भने घटनाको भोलिपल्ट नै नै पहिचान खुलेको थियो। ती शव स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

पहिचान हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट छन्।

हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव भने पहिचान हुन बाँकी छ।

हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो। यसैगरी आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन्। सरकारले असोज २६ मा नेवानिको विमान पठाएर इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको उद्धार गरेको छ।

इजरायलबाट थप १८ नेपाली मंगलबार नेपाल फर्केका छन्। भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमानबाट नेपाली पनि फर्केका हुन्। उनीहरुको भाडा नेपाली दूतावासले बेहोरेको छ।

प्रकाशित: Oct 18, 2023| 07:23 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्