बुधबार, जेठ २८, २०८२

बनेको १० वर्षपछि बल्ल चल्यो बसपार्क

 |  मंगलबार, असोज ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

vianetvianet

झापा- नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ। काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो। 

दसैँको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवत् रुपमा सुरुवात भएको घोषणा गरे। काँकरभिट्टाबाट लामो र छोटो दूरीका दैनिक पाँच सय बस सञ्चालन हुँदै आएका छन्। बजारको बीचमै रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेकाले खुल्ला र फराकिलो स्थानमा बनेको बसपार्कबाट सेवा थालिएको नगरप्रमुख बुढाथोकीको भनाइ छ। 

दशकौँ पछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी पूर्वीद्वार काँकडभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो। डेढ सयदेखि दुई सय बस एकैपटकमा पार्किङ गर्न सक्ने क्षमताको नवनिर्मित प्यारीभिट्टा बसपार्क १० वर्षदेखि प्रयोगविहीन बनेको थियो।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख  र नगर विकास कोषको ऋणबाट रु सात करोड ७७ लाख ७२ हजार जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो। बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटी लगायत १२ जनाले पाँच विगाहा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए। 

विसं २०६८ असार १९ गते शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माणकार्य थालनी गरेको थियो। दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन २०७४ भदौ १५ गते तत्कालीन नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रवीन कोइरालाले संयुक्त रुपमा गरेका थिए।

National life insurance

निर्माण भएको चार वर्षपछि उद्घाटन भएको बसपार्क बल्ल १० वर्ष बित्दा सञ्चालनमा आएको जग्गादाता शिवकुमार थापाले बताए। सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ। रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्य बत्तीको पर्याप्त व्यवस्थाका साथै खानेपानी र शौचालयको समेत व्यवस्था मिलाइएको छ। राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्र गरिएको छ। 

प्रकाशित: Oct 17, 2023| 20:02 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्