शनिबार, जेठ २३, २०८३

सडक सहज बनाउन बागलुङका स्थानीय तहको चटारो

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

बलेवा- बागलुङको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ। वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडबाडलक्षित गरेर मर्मत थालेको हो। गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो। सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन्।

National life

जैमिनीमात्रै होइन जिल्लाका १० वटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन्। 

'चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो। यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौँ', जैमिनीका उपप्रमुख हरिहर शर्माले भने, 'अब मर्मत गरेका सडक हिउँदभरि मर्मत गरिराख्नु पर्दैन, वर्षा रोकिएकाले सडकमा अवरोध नहोला भनेर सफाइको काम थालेका हौँ।'

प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्‍याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन्। बागलुङ नगरपालिकाले यो वर्ष सडक सरसफाइ र मर्मतका लागि प्रत्येक वडालाई पाँच लाख रूपैयाँका दरले बजेट नै विनियोजन गरेको थियो। सबै वडामा मर्मत र सरसफाइको काम सकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए।

दसैँलक्षित मात्रै नभइ बाढीपछि भत्केका संरचना पुनःनिर्माणसमेत गरिरहेको स्थानीय तहले जनाएका छन्। आफ्नो अधिकार क्षेत्रभित्रका सडक संरचना मर्मत गर्ने र संघ तथा प्रदेश सरकारको जिम्मेवारीमा रहेका सडक मर्मतका लागि ध्यानाकर्षण गराइरहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए।

Shivam cement

मौसमले साथ दिए दसैँमा घर फर्कने पाहुनालाई सहज हुनेगरी काम गरिरहेको उनले बताए। ग्रामीण क्षेत्रका कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मत, सफा गर्ने कामसमेत गरिरहेका छन्। दसैँलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिएका छन्। सडकमा साना-ठूला डोजर र लोडर चलिरहेका छन्।

सडक मर्मत र सरसफाइमात्रै होइन, स्थानीय तहले चाडपर्वका बेला यातायात क्षेत्रमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सक्रिय भइरहेका छन्। जिल्ला प्रशासनसँग मिलेर यहाँका स्थानीय तहले बजार अनुगमनको कामलाई तीव्र बनाएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए। स्थानीय तहले चाडबाडका बेला यातायात क्षेत्रमा हुने कालोबजारी रोकेर नियमानुसार मात्रै भाडा लिन सचेत गराइरहेका छन्। प्रहरी, प्रशासन र यातायात व्यवस्था कार्यालयलाई भाडाको अनुगमनका लागि ध्यानाकर्षण गराएको जैमिनीका उपप्रमुख शर्माले बताए।

स्थानीय तहले जस्तै जिल्लामा सञ्चालनमा रहेका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र अन्य सडक आयोजनाले पनि चाडबाडलक्षित सडक मर्मत थालेका छन्। निर्माणको काम चलिरहेका आयोजनामा सम्बन्धित निर्माण कम्पनी र निर्माण सम्पन्न भएर हस्तान्तरण भएका सडक सम्बन्धित कार्यालयलाई मर्मत तथा सरसफाइका लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए। रासस

प्रकाशित: Oct 17, 2023| 21:32 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्