शनिबार, जेठ २३, २०८३

कागबेनीलाई पुरानै लयमा फर्काउन जुटे स्थानीय

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

म्याग्दी- दुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन्। गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

National life

गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए।

'बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ। बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ। अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ। खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ', वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले भने, 'बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौँ। यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ। सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन्।'

गाउँपालिका, दाता र प्रभावितहरूले एक करोड रूपैयाँभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन्। छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौं र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्। व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन्। चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए।

तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ। घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन्। बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताए।

Shivam cement

क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए। 'बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौँ', उनले भने, 'जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ।'

भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए। कागखोलाको बाढीबाट एक अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ। सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो।

कागखोलाको बाढीबाट एक अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ। सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४ गरी भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख रूपैयाँ बराबरको क्षति पुगेको थियो।

व्यक्तिका ५० घरमा ५२ करोड रूपैयाँभन्दा बढीको क्षति भएको थियो। उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ। नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए।  -रासस

प्रकाशित: Oct 17, 2023| 22:02 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्