काठमाडौं–साहित्यकार, इतिहासकार, पुरातत्त्वविद् तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ। असली नाम नारायणप्रसाद राजभण्डारी रहेका चित्तरञ्जन ९२ वर्षका थिए।
मदन पुरस्कार (२०१३), श्रेष्ठ सिरपा (२०१५) तथा भीमसेन थापा स्मृति पुरस्कार (२०५२) जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेका नेपालीका नेपाली र नेपालभाषाका कैयौं कृति प्रकाशित छन्।
जनरल भीमसेन थापा र तत्कालीन नेपाल, नेपाल इतिहास परिचय (बाल साहित्य भाग १, २ र ३), श्री ५ रणबहादुर बाह, शाह किङ्स अफ नेपाल, नेपाल चीन सिमाना सन्धि, राणाशासनको रोल व्यवस्था र धर्मपत्रहरुलगायत नेपाल भाषाको मां लुमंका, गंकी उनका चर्चित पुस्तक हुन्।
निर्वाचन आयुक्त रहिसकेका नेपाली थुप्रै पदकबाट विभूषित भएका छन्। उनको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो। साहित्यकार पनि रहेका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम कहिल्यै प्रयोग गरेनन्।