मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले प्यालेस्टाइनको विद्रोही समूह हमाससँग कुराकानी गरेका छन्।
हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हनियाँसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री इब्राहिमले प्यालेस्टिनी जनताप्रति आफ्नो अटुट समर्थन रहेको प्रतिवद्धता व्यक्त गरेका छन्। साथै उनले इजरायलमाथि भइरहेको बमबारी तत्काल रोक्न पनि हमासलाई आग्रह गरेका छन्।
उनले ट्विटरमा भनेका छन्, 'गजामा देखिएको गम्भीर स्थितिलाई मध्यनजर गर्दै तत्काल बमबारी रोक्न म हमासलाई आग्रह गर्दछु।' इजरायललाई पनि उनले हमासका साथ तुरुन्त युद्धविराम गर्दै शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न अपिल गरेका छन्।
इजरायली तथा प्यालेस्टिनी जनताका लागि अत्यावश्यक खानेकुरा तथा औषधि सहायताका लागि मलेसिया तयार रहेको पनि प्रधानमन्त्री अनवरले जनाएका छन्। अघिल्लो शनिबार हमासले अचानक इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ युद्ध जारी छ।