मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरामा भेडाच्यांग्रा बेच्छन् साइपालका पूर्वअध्यक्ष धामी

पोखरामा भेडाच्यांग्रा बेच्छन् साइपालका पूर्वअध्यक्ष धामी

धामी दसैँका लागि एक सय २७ च्यांग्रा लिएर शुक्रबार पोखरा आएका हुन्।
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

कास्की–बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले २०६८ देखि पोखरामा च्यांग्रा झार्न थालेका हुन्। उनले गाउँमा च्यांग्रापालन गरी बर्सेनि दसैंको समय बेच्न पोखरा ल्याउने गर्थे। २०७४ को स्थानीय तह निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए। 

Kumaribank

यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे। गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे। जनप्रतिनिधि भएर काम गर्दा उनले च्यांग्रा व्यापार धेरै सम्झिए।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो। जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो। ०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो। उनलाई फेरि जनप्रतिनिधि भएर काम गर्ने मन थियो। तर, पार्टीले टिकट दिएन।

‘पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो’, उनले भने, ‘पार्टीले टिकट दिएन अनि फेरि परिवारले सम्हालेको च्यांग्र्रापालनतिर लागे।’ उनलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन। काम भनेको सानो ठूलो हुँदैन भन्ने उनको सिद्धान्त छ। ‘म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन। अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु”, उहाँले भन्नुभयो, “काम सानो ठूलो लाग्दैन। मैले च्यांग्रापालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु।’

धामी अहिले पोखरामा च्यांग्रा धपाइरहेको अवस्थामा भेटिन्छन्। उनी दसैँका लागि एक सय २७ च्यांग्र्रा लिएर शुक्रबार पोखरा आएका हुन्। ‘दसैँमा पोखरामा च्यांग्र्रा धेरै बिक्री हुन्छ। यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्यांग्र्रा लिएर आएको हुँ’, उनले भने, ‘मैले ल्याएको एक सय २७ च्यांग्रामध्ये आफैंले पालेको ८० वटा छ। अरु गाउँलेसँग किनेर ल्याएको छु।’

Metro Mart

सप्तमीसम्म ल्याएको च्यांग्र्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन्। यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैं धुमधामले मनाउने उनको योजना छ। ‘सप्तमीसम्म सबै बिक्छ। यसबाट दुई लाख जति नाफा होला कि भन्ने सोचेको छु। के थाहा घाटा पनि हुन सक्छ’, उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ।’

उनले पोखरा ल्याएको च्यांग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म मूल्य तोकेका छन्। उनले अन्य समयमा बझाङमै च्यांग्रा बेच्ने गर्छन्। यो व्यापारबाट एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उनले बताए।

‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिएका थिए। मैले उहाँहरुको सेवा पनि गरें’, उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु। दुवैतिर दुःखै छ। मलाई जनप्रतिनिधि हँुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ।’

अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उनी पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा छन्।–रासस 

प्रकाशित: Oct 16, 2023| 13:03 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्