मंगलबार, जेठ २७, २०८२

आफ्नो तलब शिक्षकहरुलाई बाँडिदिने मनकारी प्रधानाध्यापक

 |  आइतबार, असोज २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

vianetvianet

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आन्तरिक किचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैंका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन्।

यसैबीच दसैंका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलबवापतको रकम वितरण गरेका छन्। उनले साउनदेखि असोज महिनासम्मको पाएको तलब बापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका ६ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडेका हुन्।

‘दसैंका बेला मेरो खातामा तलब आयो,’ उनले भने, ‘दसैंको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले। मुटु भक्कानियो, मन थाम्न सकिनँ, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरें।’

तलब नपाएर हैरान भएका बेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैं खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए। थोरै रकम पाए पनि दसैंका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उनले बताए। ‘स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौं,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौं, हतास मनस्थितिमा पनि छौं।’

‘गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो,’ उनले भने। कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन्। विद्यार्थीको सङ्ख्या एक सय ६२ रहेको छ। नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई दुई लाख अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन।

National life insurance

खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलबविहीन भएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहार विद्यालयमा पढ्नेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायको रहेको बताउँछन्। ‘अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौं,’ उनले भने, ‘नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ। -रासस

 

प्रकाशित: Oct 15, 2023| 12:04 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्