शनिबार, जेठ २३, २०८३

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्यो

 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

लमजुङ- चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ। केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो। 

National life

यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए। उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन्।

यस पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, 'पर्यटकको आगमन ठप्प भएसँगै फुर्सदिला बनेका हामी यतिबेला पर्यटक आगमन बढ्न थालेसँगै उनीहरुका लागि व्यस्त भइरहरेका छौँ।'

पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभइ यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उनको भनाइ छ। पर्यटक नआउँदा आम्दानी शून्यजस्तै भए पनि यतिबेला दैनिक ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उनले सुनाए।

त्यस्तै अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङका अनुसार पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको छ। यतिबेला पर्यटक आगमन बढ्दा दैनिक ३०/३५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुनाले पर्यटक यसअघिसम्म आएका थिएनन्।

Shivam cement

यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङको चौतारा हो। यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्।

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन्। मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन्। सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन्। 

सो पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्यांक भने छैन। यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन्।

प्रकाशित: Oct 14, 2023| 21:01 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्