मंगलबार, जेठ २७, २०८२

श्रमदान जुटाएर कुनौटा-माछखर्क पदमार्ग निर्माण सुरु 

 |  शनिबार, असोज २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

vianetvianet

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिका-२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो।

नेकपा (माओवादी केन्द्र) को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीय श्रमदानमा जुटेका छन् भने प्रवासीले आर्थिक सहयोग गर्न थालेका छन्।

निर्माण सुरु भएको १० दिन भएको भन्दै श्रमदान र आर्थिक सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए। 'हामीले जीर्ण पदमार्गलाई पुनःनिर्माण गर्न अग्रसरता लिएका हौँ। श्रमदानमा सबै जोडिनुभएको छ। अहिले यो सबैको साझा अभियान बनेको छ', उनले भने, 'देश विदेशमा रहनुभएकाहरुले पनि सहयोग गरिरहनुभएको छ।'

भिरालो पाखो, पहिरो र वनको झाडी रहेकाले पदमार्गलाई दिगो बनाउन ढलान गरिएको कटुवालले बताए। उनका अनुसार माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै स्थानीयवासी श्रमदानमा जुटेका छन्।

ढलानका लागि आवश्यक पर्ने, सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेशका साथै विदेशमा रहेको भगवतीवासीले आर्थिक सहयोग गरिरहेका कटुवालले जानकारी दिए।

National life insurance

यस पदमार्गको कुनौटादेखि च्युरीबास खण्ड अत्यन्तै जोखिमयुक्त थियो। कुनौटास्थित कालीगण्डकी नदी किनारमा रहेको घाटमा जानका लागि स्थानीय यही पदमार्गमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।

गाउँमा दिवंगत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताए। उनका अनुसार यस अभियानमा जोडिनेको सङ्ख्या बढ्दै गएको छ।

'बेनी-जोमसोम सडकखण्ड पुग्न तथा जंगलबाट घाँसदाउरा ल्याउनका लागि यही पदमार्गको प्रयोग गरिन्छ', केसीले भने, 'विभिन्न सहयोगदाताले आफ्नो आफन्तको स्मृतिमा यो पदमार्ग बनाउने अभियानमा सहयोग गरिरहनुभएको छ।' 

प्रकाशित: Oct 14, 2023| 19:31 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्