काठमाडौं– मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर दुर्घटनामा परेको छ। आज बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकोप्टरका पाइलट प्रकाशकुमार सेढाईंको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
पाइलट सेढाईं खतरामुक्त रहेको अस्पतालले जनाएको छ। लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट सेढाईं मात्र थिए। हेलिकोप्टरमा आगलागी भएको छ। दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलटलार्ई फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो।
उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो। हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।