शनिबार, वैशाख २६, २०८३

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा, ३४ हजार ६७१ बालबालिकाले लगाए खोप

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

कर्णाली- कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरे।

National life

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्रले भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताइन्।

उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ। कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ।

यहाँका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा रविन खड्काले जानकारी दिए।

उनले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताए।

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो।

घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए।

प्रकाशित: Oct 13, 2023| 09:56 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्