मंगलबार, फागुन २६, २०८२

कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

पोखरा- पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।पोखरा महनगरपालिकाभित्र र कास्कीकै माछापुच्छ्रे गाउँपालिकाका १४ वर्ष उमेर समूहका नौ सय १९ किशोरीलाई उक्त खोप लगाइएको हो।

National life

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’ ले गर्दा हुन सक्ने महिलाको पाठेघरको मुख–यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसा विरुद्ध यो खोप प्रभावकारी हुन्छ। 

गत भदौ २७ गतेदेखि यही असोज ५ गतेसम्म कास्कीका विभिन्न विद्यालयका १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइएको हो। नौ वर्षदेखि १४ वर्ष उमेर समूहभित्र नै यो खोप लगाउन सक्यौँ भने पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशत महिलामा नहुने दाबी पनि डा शर्माको छ। 

अहिले १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोन्स्ट्रेशन’ का रूपमा खोप दिन थालिएको हो, डा शर्माले भने, ‘२०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिएका छौँ, पहिलो डोज लगाएका नौ सय १९ जना किशोरीलाई ६ महिनापछि दोस्रो डोज दिनुपर्ने हुन्छ।’

अन्य देशको तुलनामा नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर वढी हुने  गर्छ। नेपाल सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन २० हजार डोज खोप चीनबाट ल्याएको थियो। यो खोप निकै महँगो पर्छ। दुई  डोजकै नेपाली रु २० हजार मूल्य पर्ने जानकारी डा. शर्माले  दिए। 

Laxmi sunrise bank
kumari

‘गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट किशोरीलाई खोप लगाएका हौँ, पहिलो चरणमा गण्डकी प्रदेशको कास्की जिल्लामा मात्र यो खोप लगाएका छौँ, शर्माले भने, ‘यसअघि सरकारले सन् २०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो।’ 

गाभी नामक संस्थाले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। ‘सीमित स्रोत र साधनका बावजुद हामीले एचपीभी खोप लगाउन सुरू गरेका छौँ शर्माले भने, ‘दोस्रो डोजका खोप पनि सुरक्षित राखिएको छ।’

‘एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या पनि देखिने गर्छ, उनले भने, ‘उक्त खोप लगाएका कास्कीका किशोरी त्यस्ता कुनै समस्या लिएर आएका छैनन्।’ 

विकसित मुलुकमा नौ देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई उक्त खोप दिने गरेको बताउँदै डा शर्माले नेपाल सरकारले पनि विदेशी दाताको सहयोगमा सन् २०२४ देखि उक्त उमेर समुहका सबै किशोरीलाई खोप दिने तयारी गरेको बताए। नौदेखि १४ वर्षसम्म उमेर समूहका किशोरीको सङ्ख्या गण्डकी प्रदेशमा १० लाखको सङ्ख्यामा रहेको जानकारी पनि शर्माले दिए। 

प्रकाशित: Oct 13, 2023| 09:06 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्