काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन्। मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ।
मोदी कैलाश पर्वतको दूरदर्शन र पूजापाठका लागि कालापानी आउन लागेका हुन्। मोदीले कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङबाट कैलाश पर्वतको दर्शन र पूजापाठ गर्ने कार्यक्रम छ।
बिहान ९:३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुग्नेछन् र गुञ्जीसहित नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेछन्। कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन्। मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ। तर भूमि फिर्ताको ठोस पहल भने भएको छैन।