काठमाडौं- नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतले १ करोड ९२ लाख रुपैयाँ लागतमा काठमाडौंको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय भवन निर्माण गरेको छ। उक्त भवनको बुधबार भारतीय राजदूतावास काठमाडौं नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरी हस्तान्तरण गरे।
भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवन निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो। भारत र नेपालबीच भएको सम्झौताअनुरुप यो परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति काठमाडौंले परियोजना कार्यान्वयन गरेको थियो।
उद्घाटन समारोहमा दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको साझेदारीले पछिल्ला वर्षहरुमा विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए।
भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८३ वटा सम्पन्न भइसकेका छन्। तीमध्ये काठमाडौंका ४० सहित बागमती प्रदेशमा १०५ वटा रहेका छन्। यसका अतिरिक्त भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको जनाएको छ। भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराएको बताएको छ।