शनिबार, जेठ २३, २०८३

१६ वर्ष पढाएर ड्रागन खेतीमा होमिएकी कल्पना

यस वर्ष करिब दश लाख बराबरको ड्रागन बिक्री गरिसकेको उनले जानकारी दिइन्।
 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

तनहुँ जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती सुरु गरेकी कल्पना गौलीले पहिलो वर्षमै १० लाख आम्दानी गरेकी छिन्। २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेकी उनले नौ पटकसम्म दुई हजार किलो उत्पादन गरेकी हुन्।

National life

यस वर्ष करिब दश लाख बराबरको ड्रागन फ्रुट बिक्री गरिसकेको उनले जानकारी दिइन्। ‘अब बढीमा तीन लाखको बिक्री हुने अनुमान गरेको छु’, गौलीले भनिन्, ‘बढीमा तीन पटक फल दियो भने पहिलो वर्षको आम्दानी १२ देखि १३ लाखसम्म हुन्छ।’

उक्त फार्ममा उत्पादन भएको फल दमौली बजार क्षेत्रमा खपत हुने गरेको उनले बताइन्। वैशाखमा फूल खेल्न सुरु हुने र ६० दिनभित्र खान योग्य हुने जनाउँदै गौलीले मंसिरसम्म फल्ने बताइन्। दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएका उनको भनाइ थियो।

‘कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ। कुनै समयमा आफैंले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेकी छु’, गौलीले भनिन्। उत्पादित ड्रागन फ्रुट प्रतिकिलो पाँच सयदेखि छ सयसम्म बिक्री गर्ने गरेको उनले बताइन्।

करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको किसान गौलीले जानकारी दिइन्। ‘गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ,' उनले भनिन्, ‘यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ।’

Shivam cement

सुरुमा करिब असी लाख खर्च भएको भन्दै उनले त्यसमध्ये ४२ लाख पचास हजार खेतीमा लगानी गरिएको बताइन्। ‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल लगायतका बहुआयामिक किसिमले खेती गरेको छु’, उनले भनिन्।

फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागनका बिरुवा लगाएको गौलीले जानकारी दिइन्। एउटा पोलमा करिब दश हजारका दरले खर्च भएको उनको भनाइ थियो। बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै गौलीले बिक्री गर्न नपाए पनि आफूहरुले चाख्न पाएको बताइन्।

किसान गौलीले यसवर्ष तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन्। प्रति बिरुवा दुई सयदेखि पाँच सयसम्ममा बिक्री गरेको उनले बताइन्। ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन्।

नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको किसान गौलीले गुनासो गरिन्। चिसो मौसमा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ थियो।निमपत्ता, असुरो, तितेपाती, खिर्रो, बनमासा, सिमली र गौमूत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको गौलीले सुनाइन्।

‘सोह्र वर्ष शिक्षण पेसा र १५ वर्ष दमौली बजारमा बुटिक व्यवसाय गरेकी थिएँ। अहिले ड्रागन खेतीसँगै व्यास–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छु’, उनले भनिन्। स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री तथा कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन्।  -रासस

प्रकाशित: Oct 12, 2023| 06:22 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्