शनिबार, जेठ २३, २०८३

कालो पोके रोगले धान उत्पादन घट्ने चिन्ता

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

दाङ- यहाँका किसानले लगाएको धानमा 'कालो पोके' रोग देखा परेको छ। हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा 'कालो पोके' रोग देखा परेको हो। यो रोग लागेपछि धानका बोट 'कालो पोको' हुने र धानको गेडा नष्ट गर्ने गर्दछ। यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन्।

National life

'धानमा कालो पोके रोगले सताएको छ। फलेका गेडामा कालो पोके लागेको छ', दङ्गीशरण-४ का थम्मनबहादुर रेउलेले भने, 'यो वर्ष उत्पादन घट्ने भयो।' यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ थियो।

'यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ। यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्‍यो', स्थानीय जयलाल वलीले भने, 'धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ। यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ।' बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेका उनको भनाइ थियो ।

कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको दङ्गीशरण गाउँपालिकाका प्राविधिक सहायक मानबहादुर डाँगीले बताए। किसानलाई एग्रोभेटबाट हाइब्रिड बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उहाँहरुले हाइब्रिड बीउले धेरै उत्पादन दिन्छ भनेर लगाएको उनले बताए। आगामी वर्ष हाइब्रिड बीउ नलिने र लिए पनि उपचार गरे/नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो।

'हाइब्रिड जात कुनै पहाडतिरका लागि बनाइएको हुन्छ। त्यही धान तराईमा लगाउँदा यस्तो समस्या देखिन सक्छ', डाँगीले भने, 'नेपालमै सूचीकृत नगरिएका बीउ पनि किसानले लगाउने गरेका छन्।'

Shivam cement

उनका अनुसार जिल्लामा फड्के कीराले पनि धान बालीमा असर गरेको छ। दङ्गीशरणमा मात्रै दुई हजार छ सय ३१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको गाउँपालिका कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 12, 2023| 05:50 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्