सोमबार, जेठ २६, २०८२

रामारोशनमा बढे पर्यटक 

 |  बुधबार, असोज २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

vianetvianet

अछाम- रामारोशन अछामको मात्रै नभइ सुदूरपश्चिमकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो। रामारोशनलाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किंवदन्ती रहिआएको छ। एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन्।

रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ। पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वणर्न गरी नसक्नु छ।

रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौँ समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछ। हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ। हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन्।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय छ। यो १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपूर्ण ठाउँ हो। रामारोशनमा सुनिवन, गेराहा जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे ,रामे, ताउलो, डउटे, दल्लेना गरी १२ ताल र बाउलेगडा, रामे, चाका चक्रपथ, रोशन जस्ता १८ पाटन रहेका छन्।

वर्षौँदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ। करिब ६८ देशका नागरिक सामाजिक सञ्जालमार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ। अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको छ।

National life insurance

पर्यटकहरुको आगमन बढेसँगै यस क्षेत्रका जनता खुशी बनेका छन्। दिनानुदिन पर्यटकहरु आउन थालेपछि यस क्षेत्रमा किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मूल्य पाएको स्थानीय दलबहादुर साउदले बताए। रामारोशन पुग्दा हरेकलाई अलौकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताए।

रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनी वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ। रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकहरुलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकीयस्थलमा पठाउने गरेको छ।

विदेशी पर्यटकहरुको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए। सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ। 

समितिले रामारोशन क्षेत्रमा पर्यटक भित्र्याउन रामारोशन क्षेत्रको संरक्षण गरिरहेको समितिका निर्देशक गंगाकुमारी कुँवरले बताइन्। रामारोशनमा यसपटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये एक ७२ जना रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक राजेन्द्र साउदले बताए।

प्रकाशित: Oct 11, 2023| 23:02 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्