काठमाडौं– मधेस प्रदेश सरकारले इजरायलमा चरमपन्थी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाएका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख राहतस्वरुप दिने भएको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका साहको परिवारलाई पाँच लाख राहत उपलब्ध गराइने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका हुन्।
मुख्यमन्त्री यादवले मंगलबार बेलुकी शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा भएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणले १० परिवारको सपना भताभुंग भएको छ। घटनाले हामी नेपाली शोकमग्न छौं। असमयमा अनाहक ज्यान गुमाउने युवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।’