काठमाडौं- नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ।
नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस वर्षको मनसुनमा जोमसोममा दुई सय दश दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो।
त्यस्तै काठमाडौंमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ। जुन सरदरको एक सय नौ प्रतिशत हो। काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ।
त्यसैगरी ओखलढुंगामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो। यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ। यस वर्ष छ सय ३७ दशमलव एक लिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो।