शनिबार, जेठ २३, २०८३

मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्ने

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

काठमाडौं- नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू-भागमा मौसम कायमै रहेको छ। बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक/दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्यांङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्नेछ। 'देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ', उनले भनिन्।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो। बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो।

प्रकाशित: Oct 10, 2023| 21:41 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्