नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेशन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको दूतावासले जानकारी दिएको छ।
इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न समेत दूतावासले अनुरोध गरेको छ।
यसैगरी दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरुको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ।
इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार मृत्यु भएको १० जनाको शव नेपाल फिर्ता ल्याउनका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको छ।
दूतावासले जनाएअनुसार चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ। साथै, सम्पर्क विहिन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको दूतावासले जनाएको छ।
हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु भइसकेको छ। ती क्षेत्रबाट इजरायली सेनाले ३२ जना नेपाली विद्यार्थीको उद्धार गरेको छ। दूतावासले हाल केही विद्यार्थीहरुको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका जनाएको छ।