सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • इजरायली बंकरमा रहेका नेपाली विद्यार्थीलाई के भने प्रधानमन्त्री प्रचण्डले?

इजरायली बंकरमा रहेका नेपाली विद्यार्थीलाई के भने प्रधानमन्त्री प्रचण्डले?

चरमपन्थी समूह हमासको आक्रमणबाट बच्न इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि सबै प्रयास भइरहेकाले तयारी अवस्थामा बस्न प्रधानमन्त्री प्रचण्डको आग्रह।
 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीसँग टेलिफोन वार्ता गरेका छन्।

बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरेका छन्। सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले आग्रह गरेको उनको भनाइ छ। विपिनले भने, ‘प्रधानमन्त्रीले सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ। धैर्य गर्दै सुरक्षित बस्नुस् भन्नुभयो।’

आफूहरुलाई शीघ्र नेपाल फर्कने चाहनाबाहेक अरु केही नचाहिएको प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको विपिनले बताए। प्रधानमन्त्री प्रचण्डले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडानका लागि विमान तयारी हालतमा राखिएकाले धैर्य गर्न विद्यार्थीलाई आग्रह गरे।

परराष्ट्रमन्त्री साउदले पनि इजरायल दूतावासका कर्मचारीसहित सुरक्षाकर्मीबाट बंकरमा रहेका विद्यार्थीलाई उद्धार गरिने आश्वासन दिएका छन्। उनले भने, ‘इजरायली पक्षसँग कुरा गरी आजै युद्ध क्षेत्रका विद्यार्थीलाई सुरक्षित स्थानमा लगिँदै छ। हमास समूह लुकीछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायलले नमानेको बुझिएको छ।’

सुदूरपश्चिम विश्वविद्यालयका बंकरमा रहेका विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको मन्त्री साउदले बताएका छन्।

National life insurance

प्रधानमन्त्री प्रचण्ड–विपिन टेलिफोन वार्ता

प्रधानमन्त्रीः तपाईंको रमेशजी रमेश मल्ल (प्रधानमन्त्रीका स्वकीय सचिव) सँग लगातार कुरा भइरहेको मैले थाहाँ पाएँ। अहिले परराष्ट्रमन्त्रीसँग पनि तपाईंको कुरा भइहाल्यो। हामी अस्ति रातीदेखि नै लगातार लागिरहेका छौं। स्थिति विस्तारै उसमा आइरहेको छ। अहिले पनि यही विषयमा छलफल गर्न क्याबिनेट बैठक बोलाइएको छ। सर्वदलीय बैठक पनि बोलाइएको छ। इजरायली दूतावासमा पनि लगातार कुरा भइरहेको छ। सायद परराष्ट्र मन्त्रीस्तरमा पनि कुरा होला। यी सबै कुरा तपाईंले त्यहाँ विद्यार्थीलाई कम्युनिकेट गरिदिनुप¥यो। एकथरी मान्छेले झुट प्रचार गरिरहेका छन्।

विपिन सुवेदीः सबैलाई भनिसकें। एम्बेसीले डेढ घन्टामा लिन आउँछौं। हजुरहरू एउटा ब्यागमा आफूलाई अहिले चाहिने एक जोर कपडा र पासपोर्ट ब्यागमा हालेर तयारी अवस्थामा बस्नुस्। लाइभ लोकेसन सेयर गर्नुस् भन्यो त्यो पनि गरें।

इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणपछि बंकरमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा नेपाल ल्याउन निर्देशन दिएका छन्। हमासको आक्रमणमा परेर नेपालबाट कृषि अध्ययन गर्न इजरायल पुगेका १० नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। प्रधानमन्त्री प्रचण्डले घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परी निधन भएकाको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका छन्।

प्रकाशित: Oct 09, 2023| 16:09 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्