जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयले १२ जना छात्रालाई निष्कासन गरेको छ। विद्यालयको निर्णयविपरीत जिल्लामा जारी अन्तरविद्यालय छात्र तथा छात्रा (अन्डर–१६) फुटबलको फाइनलमा सहभागी भएको आरोपमा छात्रा फुटबल टिमलाई नै निष्कासन गरेको हो।
असोज १३ देखि सुरु उक्त फुटबल प्रतियोगिताको छात्रतर्फ १७ गते भैरव मावि धुपीढुस्का र चन्दननाथ माविबीच सेमिफाइनल खेलमा विवाद निम्तिएपछि चन्दननाथले प्रतियोगिताबाटै बाहिरिने निर्णय गरेको थियो। तर उक्त प्रतियोगिताको छात्रातर्फको फुटबलमा चन्दननाथ फाइनलमा पुगिसकेको थियो। प्रतियोगिताका बाँकी खेल बहिष्कार गर्ने गरी चन्दननाथले गरेको निर्णयविपरीत छात्रा टोलीले फाइनल खेलेपछि उनीहरुलाई कारबाहीस्वरूप निष्कासन गरेको हो ।
छात्रतर्फ भैरव माविसँगको खेलमा गोल विवाद भएपछि चन्दननाथ माविले रेफ्रीको निर्णय अस्वीकार गर्दै खेल मैदान छोडी बाहिरिएपछि भैरव माविलाई विजयी घोषणा गरिएको थियो। निर्णय सच्याउन भन्दै चन्दननाथ माविले एन्फालाई निवेदन पनि दिएको थियो। अन्तरविद्यालय स्तरीय छात्र र छात्रा दुवैमा सहभागिता जनाएको चन्दननाथ मावि उक्त खेलमा विवाद भएपछि सहभागिता नजनाउने भन्दै खेलाडीहरू मैदान छोडेर हिँडेका थिए।
फाइनल पुगेका चन्दननाथका छात्राले भने आपसी सल्लाह गरेर स्कुलको निर्देशनविपरीत खेलमा सहभागिता जनाएका थिए। छात्राहरूको खेलमा कुनै विवाद नभएको र फाइनलमा पुगिसकेकाले सोझै प्रतिस्पर्धी स्कुललाई उपाधि दिनुभन्दा खेलौं भनेर विद्यार्थीहरुले खेलेका थिए।
विद्यार्थीलाई दिइएको निष्कासन पत्रमा भनिएको छ, ‘विद्यालयको निर्णयविरुद्ध अटेर भई आफूखुसी उक्त खेलमा सहभागी भएकाले विद्यालयको शिक्षण सिकाइ तथा परीक्षासम्बन्धी कुनै पनि कार्यमा सहभागी हुन नपाउने गरी यस शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको छ।’