शनिबार, जेठ २३, २०८३

दसैंको मुखमा अखाद्य वस्तुको बिगबिगी

झिनियाँ र भुजा मात्रै होइन कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा र सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ।
 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

गलकोट- बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ। उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ।

National life

उक्त झिनियाँको न त उत्पादन मिति छ न त उपभोग्य मिति नै छ। यस्तै जिल्लामा उत्पादन भइरहेको धौलागिरि भुजाले उपभोग्य मिति नै केरमेट बनाएर बजारमा ल्याएको छ। भुजाको उत्पादन मिति र उपभोग्य मिति केरमेट गरेर नयाँ मिति कायम गरेको पाइएकाले उक्त भुजालाई गोदाममा फर्काउन निर्देशन दिइएको छ। 

झिनियाँ र भुजा मात्रै होइन कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा र सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ। यस्ता वस्तुहरू उपभोगका लागि अखाद्य मानिन्छ। बागलुङ बजारमा दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी नै देखिएको छ। चाडपर्वका अवसरमा अस्वाभाविक मूल्यवृद्धि र अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोपछि बजार अनुगमनलाई तीव्र गति दिने क्रममा अखाद्य बस्तु अत्यधिक पाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। 

‘व्यापारीले ज्ञान नभएर हो या उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर हो, आफ्नो पसलमा बिक्रीका लागि राखिएको सामग्रीको उपभोग्य मिति हेर्न आवश्यक छ, कतिपय खुद्रा व्यापारीहरूले मिति सकिएको सामग्री खरिद गरेर ल्याएको समेत पाइयो’, बरालले भने, ‘बागलुङका अधिकांश किराना पसलमा मिति गुज्रेका सामग्री पाइयो जुन अखाद्य पदार्थ हो, स्वास्थ्यका लागि व्यापारीहरूले खेलबाड गरिरहेका छन्।’

पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा बजार अनुगमन गर्दा अखाद्य पदार्थ पाइएको हो। बागलुङको पुरानो बजारमा बढी म्याद गुज्रेका खाद्य सामग्री पाइएको छ। अनुगमनलाई राष्ट्रिय उपभोक्ता मञ्च र जिल्लाका पत्रकारहरूले साथ दिइरहेका छन्। बागलुङ बजारको भलायटोल, देउरालीचोक, कम्पुटोल, पेन्सन क्यामरोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिसकेको छ। 

Shivam cement

अनुगमनका क्रममा धौलागिरि भुजामा मिति सच्याएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोठमा मिति गुज्रेको पाइएको छ। यस्तै अनुगमनका क्रममा लेज, सुजी, बिस्कुट, चाउचाउ, मह, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएकाले नष्ट गरिएको छ। 

अनुगमनका क्रममा मिति गुज्रेका सामग्रीसमेत मिति कायम भएका सामग्रीसँगै राखेर बिक्री गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्साकुमार महतोले जानकारी दिए। उनका अनुसार चाडबाडको मुखमा व्यापारीलाई कारबाही नभएर सचेत गराउँदै हिँडेको र अखाद्य बस्तु नष्ट गरिएको छ। 

दसैँको मुखमा मासु तथा फलफूलको व्यापार बढी हुने भएकाले मासु र फलफूलको अनुगमनसमेत गर्न थालिएको नगर उपप्रमुख राजु खड्काले बताए। बागलुङ बजारलाई चुस्त दुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका थोक व्यवसायी र सरोकारवालाहरूलाई सँगै राखेर छलफलसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ। 

चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्त दुरुस्त, सुरक्षित तथा मर्यादित बनाउनका लागि नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एसोसिएसन बिचको छलफलले उपभोग्य मिति कम रहेका सामग्री बागलुङमा नल्याउने र बिक्री नगर्ने, डिलर तथा थोक व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको नियमित हेरेर त्यस्ता सामान समय–समयमा उठाउने व्यवस्था गर्ने, बिना बिल कुनै पनि सामान खरिद बिक्री नगर्ने र डिलर तथा थोक व्यवसायीले आफूले सामान दिने खुद्रा बिक्रेताहरूको सूची तयार गरी राख्ने गरी काम भइरहेको उपप्रमुख खड्काले बताए।

प्रकाशित: Oct 08, 2023| 14:11 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्