शनिबार, जेठ २३, २०८३

बीआरआई कार्यान्वयन हुन्छः प्रधानमन्त्री प्रचण्ड

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन्।
    
बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा आज नेपाल–चीनमैत्री मञ्चले आयोजना गरेको ‘बिआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना भएको बताए। उनले बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उल्लेख गरे।

National life

प्रधानमन्त्री दाहालले बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहेको बताए। उनले भने, 'बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएकोमा प्रश्नहरू यदाकदा सुनिने गरेका छन्। यसका लागि कोभिड महामारी, हाम्रो प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन्। तर, नेपाल बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहन्छ।'

नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइप्रति आफ्नो पूर्ण सहमति रहेको भन्दै प्रधानमन्त्री दाहालले उक्त विषय आफूले पनि केही दशकदेखि दृढतापूर्वक भन्दै आएको बताए। 'अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ। तसर्थ, यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढंगले छलफल गर्नेछौं। चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ।'

प्रधानमन्त्री दाहालले विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुवै भएको बताए। उनले नेपाल चीनको यो द्रूततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआई)बाट पूरा गर्न चाहेको उल्लेख गरे। उनले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै आवश्यकता पूरा हुनसक्ने परिस्थिति नरहेको बताए। विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो रहेकोको सन्दर्भमा बिआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुने उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सावर्जनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन नसकेको बताए। उनले अब छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेमा जोड दिए।

Shivam cement

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिको पक्षमा दृढ रहेको दोहोर्‍याउँदै नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिइने स्पष्ट पारे। उनले भने, 'नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको छ । हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौं। नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन। यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो।'

 

प्रकाशित: Oct 08, 2023| 13:07 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्