शनिबार, जेठ २३, २०८३

इजरायलमा ९ नेपाली घाइते, नेपालले गर्‍यो आक्रमणको 'कडा निन्दा'

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं- नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै 'कडा निन्दा' गरेको छ। शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो।

National life

आक्रमणमा केही व्यक्ति हताहती भएको र केही घाइते भएको अवस्थामा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ।

वक्तव्यमा भनिएको छ, नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन्। यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ।'

परराष्ट्र मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ। त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। क्षतिको अरु विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ।

इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ। दूतावासले नेपाली कामदारहरूको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ। त्यस्तै पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले केही परेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

Shivam cement

387323689_1334888413787558_8299993478266412166_n-1696694126.jpg

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो। हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन्।

इजरायली स्वास्थ्य मन्त्रालयले 'प्यालेस्टिनी आक्रमण' मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको जनाएको छ। टाइम्स अफ इजरायलले रेडियो आर्मी रेडियोलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ। हमास विद्रोहीले बन्धक बनाएका केही व्यक्तिलाई प्यालेस्टाइनतर्फ लगेको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित: Oct 07, 2023| 21:41 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्