आइतबार, भदौ २३, २०८१

nespernesper

पर्यटक आकर्षित गर्न सामुदायिक वनमा कृत्रिम ताल

 |  बिहीबार, असोज १८, २०८०

राजकुमार पराजुली

राजकुमार पराजुली

बिहीबार, असोज १८, २०८०

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण गरिने भएको छ। पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण गरिने भएको हो।

triton college

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिले जलजले ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल निर्माण गरिन लागेको हो। यसअघि प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो। प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत ताल निर्माण गर्न लागको हो।

प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डीपीआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्यांकन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ रुख कटानका डिभिजन वन कार्यालयमा प्रक्रिया अघि बढाइएको छ। रुख कटानको आदेश आएपछि काम अघि बढाइने कार्यालयका डिभिजन प्रमुख इन्जिनियर मनिष महर्जनले बताए।

कार्यालयका अनुसार ताल निर्माणका लागि तीन सय सात वटा रुख कटान गर्नुपर्ने छ। महर्जनले ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध निर्माण गरिने बताए। उक्त पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्बाइको हुनेछ। उनका अनुसार पहिलो चरणमा ताल निर्माण हुनेछ भने दोस्रो चरणमा टिकट घरलगायत पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचनाका अन्य पूर्वाधार निर्माण गरिने छ। 

यस्तै तालमा डुंगा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राृकतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ। साथै चराचुरुंगी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइने छ। यस्तै ताल क्षेत्र वरपरका रुखमा ‘ट्रि हाउस’ र ‘ट्रि सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ।

Metro Mart
vianet

ताल निर्माणका लागि चालु आर्थिक वर्षमा पहिलो चरणमा एक करोड रूपैयाँ बजेट विनियोजन भएको कार्यालयले जनाएको छ। तालसहितका उल्लिखित संरचना निर्माण गर्न १६ करोड ९४ लाख ५० हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ। ताल निर्माण सम्पन्नपछि संघीय राजधानी काठमाडौंको नजिकको एक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको छ। हाल बहुउद्देश्यीय परियोजनाका रुपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागत रुपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताए।

उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो। यस्तै तीन वर्षअघि संघीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको १५ लाख रूपैयाँ डीपीआरलगायतका लागि पहिलो बजेट विनियोजन गरिएको थियो।

सानो पोखरीमा अवस्थित हिले जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व छ। नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किवदंती छ। यस्तै वासुकी नाग हिलेजलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गर्दै आइएको छ। हरेक वर्ष घुम पुर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दै आएको छ।

वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कदा पहिलेकै अवस्थामा आउने किंवदन्ती पनि पाइन्छ। वासुकी नागले पनौतीको भ्रमण गर्दा उनको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आएको स्थानीय कृष्णप्रसाद दाहालको भनाइ छ। हिलेजलजले क्षेत्रलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागिएको हो।

प्रकाशित: Oct 05, 2023| 22:29 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्