सोमबार, भदौ २९, २०८३

बाढीमा बेपत्ता २३ मध्ये एक सैनिक जवानको जीवितै उद्धार

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

भारतको सिक्किममा अचानक आएको बाढीले बगाएका २३ मध्ये एक भारतीय सैनिक जवानको जिवितै उद्धार गरिएको छ।

ल्होनक ताल फुटेर आएको बाढीमा सैनिक बेपत्ता भएका हुन्। बेपत्तामध्ये एक जनाको बुधबार बेलुका उद्धार गरिएको छ। बाँकी २२ जनाको खोजी जारी छ।

भारी वर्षाका कारण खोज अभियान प्रभावित भएको छ।

सिक्किमको बाढीमा अहिलेसम्म १०० भन्दा धेरै बेपत्ता छन् भने १४ जनाको शव भेटिएको छ। सानो क्षेत्रमा अचानक आएको भीषण वर्षाले यो विपद् निम्त्याएको हो।
२२ हजारभन्दा धेरै मानिस प्रत्यक्ष प्रभावित भएको बताइएको क्षेत्रमा २१ वटा सहायता शिविर स्थापना गरिएको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताको लागि आश्वस्त पारेको बताएका छन्।

गत मंगलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो। बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो।

तल्लो तटिय क्षेत्रहरूमा अचानक १५-२० फिटसम्मले जल सतह बढेको थियो। कैयौं बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएपछि त्यहाँ समेत सहायता प्रयासहरू अगाडि बढाइएको छ। बाढीबाट मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लाहरू प्रभावित बनेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा ३,००० भन्दा धेरै पर्यटकहरू रोकिएका छन्। मंगन जिल्लाको चुंगथांग क्षेत्रमा मौसम सहज हुनेबित्तिक हवाई उद्धार सुरु गर्ने तयारी गरिएको बताइएको छ।

मंगन जिल्ला आसपास सञ्चार सम्पर्क समेत अवरुद्ध हुन पुगेको छ।

प्रकाशित: Oct 05, 2023| 13:48 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्