काठमाडौं- एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीले पढाइ खर्चको प्रलोभन देखाएर भतिजी नाता पर्ने १७ वर्षीया किशोरीसँग यौन प्रस्ताव राखेको अडियो सार्वजनिक भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–८ का शाहीले स्थानीय रमा (नाम परिवर्तन)लाई यौन प्रस्ताव राख्दै गोप्य अंगको फोटो पठाउन अनुरोध गरेको अडियोमा सुन्न सकिन्छ।
सुरतले स्थानीय शाही थरकै नातामा भतिजी पर्ने किशोरीलाई अनैतिक प्रस्ताव राखेका हुन्। शाहीले अडियोमा यौन सम्पर्क गर्न दिए भतिजीलाई पढाइ खर्चका साथै इन्ट्रान्स परीक्षामा नाम निकाल्न सहयोग गर्ने प्रलोभन दिएका छन्।
शाही जुम्लामै रहेको कालिका टेक्निकल स्कुल अफ अग्रिकल्चर साइन्सका अध्यक्षसमेत हुन्। जुम्लामा दुई पटकसम्म स्थानीय तहको अध्यक्षको टिकट पाएर पराजित शाहीले पटक–पटक विवादित क्रियाकलाप गर्दै आएको बताइन्छ। अनैतिक क्रियाकलाप गर्दै आए पनि राजनीतिक आडमा शाही बच्दै आएका छन्।