सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निरञ्जन आत्महत्या प्रकरण: सहकर्मीले फेसबुकमा कालो तस्बिर राखेर गरे विरोध

निरञ्जन आत्महत्या प्रकरण: सहकर्मीले फेसबुकमा कालो तस्बिर राखेर गरे विरोध

एनआईएमबी बैंक हेटौंडा शाखा प्रमुख रहेका देवकोटालाई व्यवस्थापनले ‘टर्चर’ दिएर राजीनामा दिन बाध्य पारेपछि त्रिशूलीमा हाम फाल्नुपर्ने अवस्था आएको दाबीसहित लाइन म्यानेजर र ऋण विभाग प्रमुखबाट फेसबुकमा कालो तस्बिर राखेर विरोध।
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीस्थित नयाँ पुलबाट त्रिशूली नदीमा हाम फालेका निरञ्जन देवकोटाको अवस्था अहिलेसम्म अज्ञातै छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी जारी राखे पनि दुई दिनदेखि परेको अविरल झरीका कारण त्रिशूलीको जल सतह बढेको छ।

देवकोटाले आइतबार बेलुकी त्रिशूलीमा हाम फालेका थिए। बा प्र०३–००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल नयाँ पुलमै छाडेर देवकोटा त्रिशूलीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ।

नेपाल इन्भेस्टमेन्ट र मेघा बैंक एउटै भएर एनआईएमबी बैंंक बनेपछि देवकोटाको जागिर चट् भएको रहेछ। बैंक व्यवस्थापनको दबाबकै कारण निरञ्जनले त्रिशूली रोजेको उनका सहकर्मीले दाबी गरेका छन्।

एनआईएमबी बैंक हेटौंडा शाखा प्रमुख देवकोटालाई बैंक व्यवस्थापनले ‘टर्चर’ दिएर राजीनामा दिन बाध्य पारेको र आत्महत्या गराउनसम्मको चरणमा पु¥याएको भन्दै विभिन्न बैंकमा कार्यरत लाइन म्यानेजर र ऋण विभाग प्रमुखले सामाजिक सञ्जाल फेसबुकमा कालो तस्बिर राखेर विरोध जनाएका छन्। कर्मचारीलाई मानसिक तनाव दिइएको दाबी गर्दै उनीहरुले सांकेतिक विरोधस्वरुप फेसबुक पेजमा कालो तस्बिर राखिएको बताएका छन्।

एनआईएमबीका कर्मचारीसँगै एनएमबी, एनआइसी एसिया, कामना सेवा विकास, महालक्ष्मी विकास बैंकलगायत कर्मचारीले देवकोटाले त्रिशूलीमा हाम फालेलगत्तै आफ्नो फेसबुक प्रोफाइल कालो बनाउँदै सांकेतिक विरोध सुरु गरेका हुन्।

इन्भेस्टमेन्ट बैंक कर्मचारी युनियन अध्यक्ष शिवहरि भण्डारीलगायत सबै बैंक कर्मचारीले आफ्नो फेसबुक प्रोफाइल कालो बनाएर सांकेत विरोध जनाएका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिन गर्न र बेपत्ता देवकोटा खोजीका लागि सबै पक्षसँग आग्रहसमेत गरेका छन्।

इलाका प्रहरी कार्यालय गजुरीबाट ३ किलोमिटरको दूरीस्थित उक्त पुलबाट हाम फालेका देवकोटाको अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। देवकोटाले त्रिशूलीमा हाम फालेपछि आफन्तको आग्रहमा प्रहरीले स्थानीयको सहयोग लिएर उनको खोजी गरिरहेको छ।

प्रकाशित: Oct 04, 2023| 13:54 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्