शनिबार, जेठ २३, २०८३

नेपालगञ्ज उपमहानगरमा आज पनि कर्फ्यु

हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०


काठमाडौं– हिन्दु–मुसलमानबीचको सामाजिक सद्भाव भड्किने आशंकामा बाँकेको नेपालगञ्ज उपमहानगरभित्र मंगलबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी छ। मंगलबार केही अशान्त बनेको नेपालगञ्ज आज भने शान्त देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।

National life

नेपालगञ्जमा उपद्रव हुन नदिन यतिबेला ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनको भनाइ छ। मान्छेको भीडभाडमा रोक लगाइएको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यु कति लम्ब्याउने भन्नेबारे थप निर्णय गरिने उनले बताए।

कर्फ्युका कारण भारतबाट स्वदेश फर्किएका बाँकेको जमुनाहा नाकामा रहेका झन्डै ९ सय नेपालीलाई गन्तव्यतर्फ लगिँदै गरेको उनले जानकारी दिए। बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले १४ असोजमा मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यु लगाउनु परेको बताइन्छ। 

१५ असोजमा मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध र्‍याली निकालेका थिए। त्यसको विरोधमा फेरि मंगलबार बिहान  सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण ओमकार परिवार हिन्दु समाजले सद्भाव र्‍यालीका नाममा विरोध र्‍याली निकालेका थिए। 

त्यो ¥यालीका सहभागीले सार्वजनिक सम्पत्तिमा तोडफोड, ढुंगामुढा गर्नुका साथै उच्छृंखल गतिविधि गर्न थालेपछि नेपालगञ्जको सामाजिक तथा धार्मिक सद्भाव भड्कन सक्ने खतरा आकलन गरी स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो। 

Shivam cement

विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो। मंगलबार मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

तर, सद्भाव र्‍याली, सर्वपक्षीय बैठक बसालिए पनि विवाद साम्य हुन नदेखिएपछि प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए। हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

प्रकाशित: Oct 04, 2023| 10:57 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्