सोमबार, भदौ २९, २०८३

बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी

कालिकोटका कलिला आमाहरु

बालविवाहका कारण २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको संख्या बढेको हो।
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

मान्म- कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ। बालविवाहका कारणले जिल्लामा २० वर्षमुनि उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो।

आर्थिक वर्ष २०७९/८० मा कालीकोटमा २० वर्ष मुनिका गर्भवतीको सङ्ख्या तीन सय ८१ रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्याङ्कमा छ। उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरुमा शारीरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सङ्केत विश्वकर्माले बताए।

‘समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको छ, दुई वर्षमा निःशुल्क रूपमा सामुदायिक स्वास्थ्य एकाइमार्फत उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएका पाइएको छ, नौ पालिकामध्ये सात पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको छ’, उनले भने, ‘हामीले नियमित रुपमा जनचेतनाका काम गर्दा पनि बालविवाह र कलिलै उमेरमा आमा हुनेको सङ्ख्या बढेको छ।’

सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत यातायात भाडा नियमित उपलब्ध गराउने गरेको र स्थानीय तह तथा जिल्ला अस्पतालमार्फत सुत्केरी सेवा सञ्चालन गर्दै आएको डा. विश्वकर्माले जानकारी दिए।

‘स्वास्थ्य सेवा कार्यालयको भवन जीर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुका पनि भवनको अवस्था जीर्ण रहेका छन्’, उनले भने, ‘बर्थिङ सेन्टर ३७, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ सेन्टर १३, इमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ रहेका छन्।’

प्रकाशित: Oct 04, 2023| 06:01 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्