काठमाडौं- विपद् पत्रकारिता सञ्जालले ‘विपद् जोखिम न्यूनीकरणको मूल प्रवाहिकरण तथा स्थानीयकरणमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया आयोजना गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा सञ्जालकी अध्यक्ष अमिका राजथलाले नेपालमा प्राकृतिक विपद् तथा मानवद्वारा सृजित विपदहरुको विषयमा हामीले लामो समयदेखि पत्रकारिता गर्दै आए पनि विनाश वा विपद किन भइरहेको छ, कसरी न्यूनिकरण गर्न सकिन्छ, पूर्व तयारीको लागि स्थानीय तहको तयारी लगायतको विषयमा खासै चासो नदिएको बताइन्।
उनले नेपालमा विपद पत्रकारिता सुदृढीकरणका लागि समाचार कक्षहरूको सहकार्यका लागि उक्त संस्था स्थापना भएको बताइन्। अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विपदबाट कुने क्षति रोक्नको लागि पत्रकारहरुले महत्वपूर्ण कार्य गर्नसक्ने बताए। उनले प्रर्याप्त सूचनाको आधारमा कम क्षति पुर्याउने तर्फ मिडियाले काम गर्नुपर्ने बताए। कतिपय अवस्थामा मानवकै कारण पनि ठूलो विपद र जोखिम भोग्नुपर्ने अवस्थाको खोजि गर्ने, सरकार र स्थानीय सरकारको पूर्वतयारी कस्तो छ ? राहतको अवस्था कस्तो छ ? बारे पत्रकारले कामगर्नुपर्ने बताए।
अन्तरक्रियामा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम नेटवर्क (निम्जन)का रजनीश भण्डारीले विपद व्यवस्थापनको क्षेत्रमा खोज समाचार गर्नुपर्ने बताए। उनले विपदको बेला संचार सम्पर्कलगायतको सुविधा नभएको अवस्थामा पत्रकारले कसरी काम गर्ने बारे प्रस्तुती दिएका थिए।
विपद व्यवस्थापनका जानकार रामप्रसाद भण्डारीले आफ्नो प्रस्तुती दिँदै नेपालमा जोखिमको मूल्यांकन, स्थानीय क्षमताबारे जानकारी, जोखिम संवेदनशील भूउपयोग योजना तथा पूर्व सूचना तथा चेतावनीको प्रणाली फितलो रहेको बताए। जसले गर्दा कम क्षति हुनसक्ने स्थानमापनि अनाहक मान्छेको जीवन जोखिममा परिरेहेको बारे पत्रकार र मिडियाहाउसहरुले लेखिरहनुपर्ने बताए।
कार्यक्रममा राजु थापा, विष्णु तिमिल्सिना लगायतले विपद व्यवस्थापन तथा जोखिम न्युनिकरणको विषयमा विचार व्यक्त गरेका थिए।