शनिबार, जेठ २३, २०८३

गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गर्दै हतुवागढी

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

भोजपुर- ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ। गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो। पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ।

National life

स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, सांस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, सम्बर्द्धन एवम् प्रवर्द्धन गरेर हतुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

'हतुवागढी आफैमा एक ऐतिहासिक गाउँ हो', उनले भने, 'यहाँ धेरै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्। यी क्षेत्रको विकास गरेर पर्यटक भित्र्याउने आधार र सम्भवनाको खोजी गरिरहेका छौँ।' उनका अनुसार किरात राजाहरुले राज्य गरेको गढीमा रहेका भग्नावशेष दरबारको मर्मत गर्ने पालिकाको पहिलो योजना रहेको छ।

गढीको नामबाट गाउँपालिकाको नाम राखिएकाले यसको संरक्षण तथा विकास गरेर इतिहासको खोजी गरी गढी र दरबारलाई अध्ययनयोग्य विषयको रुपमा विकास गर्न सकिने अध्यक्ष राईको भनाइ थियो। नेपाली सेनाले ऐतिहासिक गढीको संरक्षण र प्रवर्द्धनको लागि एक गढीबाट अर्को गढी जोड्ने पदमार्ग निर्माणको योजना अगाडि बढाएको भन्दै उनले यसले हतुवागढीको पर्यटन विकासमा टेवा पुग्ने बताए।

यहाँको ऐतिहासिक तथा पुरातात्विक गढी र दरबार क्षेत्रको पुनःनिर्माण गरी यसको प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको गाउँपालिकाले जनाएको छ। हतुवागढीबाट धरान, ईटहरी, विराटनगरका साथै तराईका विभिन्न जिल्लामा सहजै पुग्न सकिने भएकाले पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईले बताए।

Shivam cement

हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघालगायत हिमालका साथै तराईका फाँटको अवलोकन गर्न सकिने उनको भनाइ थियो। 'हाम्रो पालिका तराईका ठूला सहरबाट नजिकै रहेको छ', उनले भने, 'त्यसैले यहाँ पर्यटनको धेरै राम्रो सम्भवना छ।'

पालिकाको दक्षिण पूर्वीभागमा अरुण र दूधकोशी नदीमा बोटिङ भइरहेकाले यसबाट पनि पर्यटक भित्र्याउन सकिने अध्यक्ष राईले बताए। 'सप्तकोशीमा चतराघाटदेखी हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पुर्‍याउँदै जलयात्रा गर्न सकिन्छ', उनले भने।

गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक हतुवागढी दरबार, भविष्यवक्ता पोखरी, महादेवथान गुफा, चमेरे गुफाका साथै हतुवागढी-१ मा रहेको दिमालुंग स्मारक पार्क, शिवालय थान, हतुवागढी-२ मा सय वृक्ष, सङ्खाम चुली, जोर आहाल, भ्यु टावर, छोकमैन अवतारी, थुलुंग संस्कृतिको सौरीनेम, तोसिखोम, अजम्बरी पानी, माक्साहुत (भालु बस्ने गुफा) हतुवागढी-३ मा सुनाहाङको शिर राखेको स्थल, फलामढुंगा, लुंगथुंग ढुंगा, शिला सुत्केरी शिलालगायत पर्यटकीय स्थल रहेका राईले जानकारी दिए।

पालिकामा रहेका ऐतिहासिक होम्ताङ साकेला थान, बाहुतभुत बस्ने सुरुंग, सिमसरादेबी थान, लुखिम ढुंगा, ईन्द्रेणी करना, ब्राहम टाकुरे डाँडा, विद्यापोखरी, पिचाखा मागलुंग, गन्धेपानी, माईबेनी, किरात करना, समुदायको साकेलालगायत स्थानको स्तरोन्नति गरी विभिन्न अवलोकन तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए।

किरात समुदाय आस्थाको केन्द्र खुवालुंगलाई शुभारम्भ प्रस्थान बिन्दुको रुपमा विकास गरी समुद्र सतहबाट एकसय ५३ मिटर उचाईमा रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू-भागदेखि सबैभन्दा अग्लो भू-भाग साल्पासिलिछोसम्मको पदमार्गको प्रस्थान बिन्दु बनाउने योजना रहेको उनले जानकारी दिए।

पदमार्गमार्फत भोजपुर, धनकुटा तथा उदयपुरको संगमस्थल तथा धार्मिकस्थल माइबेनी (त्रिवेणी), हतुवागढी दरबार हतुवागढी पैदलमार्गबाट पाक्माखाम भञ्ज्याङ हुँदै चखेवामा जोड्ने निरौलाको भनाइ थियो। गाउँपालिकाको पर्यटन गुरुयोजनाअनुसारका कार्य सम्पन्न भएपश्चात् पालिकाले पर्यटनका क्षेत्रमा फड्को मार्ने उनले बताए।

पालिकाले निर्माण गरेको गुरु योजनाअनुसार पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राईले बताए।

प्रकाशित: Oct 02, 2023| 22:29 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्