शनिबार, जेठ २३, २०८३

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ। कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। यहाँ अझै ५० किलोमिटर सडक कालापत्रे गर्न बाँकी छ।

National life

कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६/०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। साढे २९ किलोमिटर उक्तखण्ड तीन वटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो।

त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए। उनले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताए।

क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारवटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो।  चालू आर्थिक वर्षमा कैलालीतर्फ हुलाकी सडक निर्माणका लागि रु ३९ करोड सरकारले बजेट बिनियोजन गरेको छ।

‘बजेट कम  भएन र निर्माणमा कुनैखाले अवरोध भएन भने चालू आर्थिक वर्षमै काम सकिन्छ,’ उनले भने, ‘यहाँ निर्माण व्यावसायीको ढिलासुस्तीका कारण पनि ढिलो भएको हो।’ कैलालीमा हुलाकी सडक निर्माणको म्याद आगामी पुस मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ।

Shivam cement

आर्थिक वर्ष २०६४/६५ देखि हुलाकी सडक निर्माणको कार्य सुरु गरिएको थियो । सुरुवातमा भारतको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी सडक निर्माण गरेको थियो  तर सो कम्पनीले राजमार्ग निर्माण अधुरै छोडेपछि सरकारले उक्त सडक आयोजना आफ्नै लगानीमा अघि बढाएको थियो।

यता कञ्चनपुरमा पनि साढे ६२ किलोमिटर हुलाकी सडकका लागि पाँचौ पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन। इन्जिनियर सुनारका अनुसार कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकमा साढे ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। विसं २०७३ फागुनमा निर्माण सुरु भएको उक्त खण्डलाई तीन प्याकेजमा निर्माण गर्न दिइएको थियो।

पहिलो प्याकेज पाँचौ पटकसम्म म्याद थप गर्दा सकिएपनि दुई वटा प्याकेजको काम ५० प्रतिशतभन्दा बढी बाँकी नै छ। ‘दोस्रो प्याकेज (बेलौरी–बेल्डाँडी) २० किलोमिटरमध्ये साढे नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ।’

उनले भने, ‘तेस्रो प्याकेज (बेल्डाँडी–दैजी) को २४ किलोमिटरमध्येमा आठ किलोमिटरको काम सकियो।’ उक्त दुवै प्याकेजको म्याद गत असारमा सकिएकामा अहिलेसम्मका लागि पुनः म्याद थप गरिएको छ।

यहाँ ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले दोस्रो प्याकेजको निर्माणको जिम्मा पाएपनि सो कम्पनी अहिले हुलाकी सडक योजना कार्यालयको सम्पर्कमा नरहेको इन्जिनियर सुनारको भनाइ थियो।  -रासस

प्रकाशित: Oct 02, 2023| 21:41 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्