शनिबार, जेठ २३, २०८३

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

सामान्यतया नेपालबाट मनसुन अक्टोबार दुई तारिखबाट बाहिरिने गरे पनि यस वर्ष भने केही ढिलो गरी बाहिरिने भएको छ। यो वर्षको मनसुन तीन दिन ढिलो गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

National life

गत जुन १३ मा भित्रिएको मनसुन अक्टोबर ५ मा बाहिरिने सम्भावना छ। बुधबारसम्म मनसुन सक्रिय नै हुने देखिन्छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। यसले बदली र वर्षात् गराइरहेको छ।

सोमबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो पनि देशभर सामान्य बदलीकै अवस्था रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

शुक्रबार बुलेटिन निकाल्दै महाशाखाले बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले केही दिन अझै बदली र वर्षाको सम्भावना रहेको बताएको थियो।

‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकोले आगामी तीन–चार दिनसम्म देशका धेरै स्थानहरूमा आशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बुलेटिनमा भनेका थियो।

Shivam cement

वर्षाका कारण पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन–जीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुन सक्ने सम्भावना भएको तथा बाली भित्र्याउने बेला पनि भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन अपिल गरेको थियो।

प्रकाशित: Oct 02, 2023| 08:55 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्