शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कालोपत्रे भएको तीन महिनामै भत्कियो सडक, स्थानीयको दबाबपछि पुन: मर्मम गरिँदै

कालोपत्रे भएको तीन महिनामै भत्कियो सडक, स्थानीयको दबाबपछि पुन: मर्मम गरिँदै

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

भोजपुर- बनेको तीन महिनामै भत्किएको कालोपत्रे सडक दबाबपछि पुनःमर्मत हुने भएको छ। जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, आयोजनाका प्रतिनिधि, निर्माण व्यवसायी, जनप्रतिनिधिसहित सरोकारवाला निकायको बैठकले भत्किएको सडक पुनःनिर्माण गर्ने निर्णय गरेको हो।

National life

बोखिम-पिप्ले-खाल्डे-आहाले-दधिपुर-सल्लेनी सडकखण्डको साढे चार किलो मिटर सडक बनेको तीन महिनामा नै भत्किएपछि पुनःनिर्माणका लागि निर्माण कम्पनीलाई दबाब बढेको थियो। सो सडक रौताहा-रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो। 

'सडकको अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएकाले निर्माण कम्पनीले पुनःनिर्माण गर्नुपर्ने थियो तर निर्माणमा संलग्न कम्पनी र आयोजनाका प्रतिनिधिसहितको बैठकबाट समस्या समाधान गर्ने निर्णय भएको छ,' जिल्ला समन्वय समितिका प्रमुख राईले भने, 'भत्किएको सडक मर्मत गर्ने कुरा भएको छ अब त्यसका लागि हामी सबैको दबाब जरुरी छ।'

विगतदेखि नै मापदण्डअनुसार सडक निर्माण नभएको आवाज उठाउँदै आएकाले बनिसकेर भत्किएको सडक दसैँ-तिहारको आसपाससम्म बनाइसक्ने निर्णय भएको भोजपुर नगरपालिका-५, बोखिमका वडा सदस्य नीरप्रसाद फुयालले जानकारी दिए।

बैठकमा समन्वय प्रमुख राई, प्रजिअ हरिप्रसाद घिमिरे, वडाध्यक्ष फविन्द्र प्रधान, वडा सदस्य फुयाल, कामु आयोजना व्यवस्थापक वीरबहादुर रावत, निर्माण कम्पनीका दिव्य पौडेल, गणेश पौडेल, इञ्जिनीयर ओमकान्त ढकाल, राजन श्रेष्ठका साथै स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

Shivam cement

सडकको विषयमा धैरै गुनासो आएपछि समन्वय प्रमुखसहित सडकको अनुगमन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएपछि सम्बन्धित निकायमा सो विषयमा बुझ्ने काम गरिएको बताए। उनका अनुसार भत्किएको सडकका भाग पुनःनिर्माण गर्ने सहमति भएको छ।

जनताको करबाट सञ्चालन हुने योजनाको बेथिति रोक्न सबै सरोकारवाला निकायले खबरदारी गरिरहन आवश्यक रहको वडाध्यक्ष प्रधानले बताए। ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत १० करोड ५० लाख रूपैयाँमा सो सडकको निर्माण कार्य भएको थियो।

प्रकाशित: Oct 01, 2023| 21:41 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्