आइतबार, जेठ २४, २०८३

जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको अपिल

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

काठमाडौं- आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विश्वभर मनाइँदैछ। यस वर्ष सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका बाचाहरु पूरा गरौं भन्ने नाराका साथ मनाइँदै छ।

National life

नेपाल मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकलाई प्राप्त हुने सबै प्रकारको सेवा उपलब्ध गराउन, सेवा प्रवाहमा प्राथमिकता दिन तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्यप्रति ध्यान दिन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संस्थाहरु तथा सरोकारवाला सबैलाई अपिल गरेको छ।   

आयोगले ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार गर्नेलाई कारवाही गर्न, जेष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्तान्तरण गरी सम्मान गर्न तथा जेष्ठ नागरिकको अधिकारको संरक्षण, संवर्धन न र प्रबर्धनको उचित कार्यान्वयनका लागि कार्य गर्न समेत सरोकारवाला सबै पक्षलाई अपिल गरेको छ।

विज्ञप्तिमा नेपालको संविधानको मौलिक हकको धारा ४१, जेष्ठ नागरिक ऐन २०६३, नियमावली २०६५, स्थानीय सरकार सञ्चालन ऐन २०७४, जेष्ठ नागरिकसम्बन्धी नीतिहरुलगायतका राष्ट्रिय कानुन एवं मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, संयुक्त राष्ट्रसंघीय जेष्ठ नागरिकहरुका सिद्धान्त १९९१, भियना कन्भेन्सन, मकाओ घोषणापत्र १९९८ लगायतका अन्तर्राष्ट्रिय कानुनी व्यवस्था भएता पनि यसको कार्यान्वयन पक्ष कमजोर देखिएको उल्लेख छ।

आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले नेपाल सरकारले प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट सुविधा, यातायातमा छुट सुविधा, आरक्षण सीटको व्यवस्था, सेवाको प्राथमिकतामा कार्यान्वयनको अभाव रहेको बताए। जसले गर्दा जेष्ठ नागरिकको अधिकारमा थप चुनौती खडा भएको उनले जानकारी दिए।

Shivam cement

संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उद्देश्यले सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ का दिन अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो। तथ्यांकअनुसार विश्वमा ६० वर्ष माथिका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ। नेपालको जनगणना, २०७८ अनुसार नेपालमा जेष्ठ नागरिकहरुको जनसंख्या २९ लाख ७७ हजार ३ सय १८ रहेको छ।

औसत आयुमा देखिएको यसप्रकारको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान गरिएको छ। जेष्ठ नागरिकको औसत आयु बढ्नु सकारात्मक छ, तर जेष्ठ नागरिकहरुका समस्या भने दिन प्रतिदिन विश्वव्यापी रुपमा थपिँदै जानु चुनौती बनेको आयोगले उल्लेख गरेको छ।
नेपालमा परिवारका सदस्य वैदेशिक रोजगारीमा जाँदा जेष्ठ नागरिकहरु एक्लो हुँदै जानु, एकल परिवार र प्रविधिको कारण अन्तरपुस्ता बिचको निकटता टाढा हुँदै जानु, जेष्ठ नागरिकहरु माथि दुर्व्यवहारका घटनाहरु बढ्दै जानु, घर परिवार, समाज र राज्यबाट नै जेष्ठ नागरिकहरुप्रतिको सम्मान र सरक्षण नहुनु, ललाईफकाई सम्पत्ति आफनो नाममा बनाउनु तथा उचित लालन–पालन र स्याहार सुसार नगरी बृद्धाश्रमसम्म लैजाने गरेका घटनाहरु दिन प्रतिदिन बढ्दो क्रममा रहनु चिन्ताजनक रहेको प्रति आयोगले चिन्ता व्यक्त गरेको छ।

 

 

प्रकाशित: Oct 01, 2023| 15:01 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्