शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • संसदीय समितिको निर्देशनपछि आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

संसदीय समितिको निर्देशनपछि आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिको शुक्रबार बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।      

‘चिकित्सकमाथि हुने यस्तो घटनाप्रति खेद प्रकट गर्दछौँ’, समितिको निर्णयमा भनिएको छ, ‘दोषीउपर कारबाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउनसम्बन्धित निकायलाई निर्देशन दिइएको छ।’ समितिका सभापति जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षण भएको बताए।

बैठकले चिकित्सक एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्ताबाट गर्न सुझाव दिएको छ। समितिले चिकित्सकहरु पेसागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्न समितिले निर्देशन दिएको छ।     

समिति बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव, नेपाल मेडिकल काउन्सिल, नेपाल दन्त चिकित्सक सङ्घ, नेपाल सरकारी चिकित्सक सङ्घ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय आवासीय चिकित्सक सङ्घ, नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायतका  सरोकारवाला सङ्घसंस्थाको प्रतिनिधिको उपस्थिति थियो।

मन्त्री बस्नेतले चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे दुःख व्यक्त गरे। बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो। सचिव भट्टराईले दुर्व्यवहारका घटना भएका अस्पतालमा सुरक्षाको व्यवस्था मिलाइएको र संलग्नलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए। 

बैठकपछि मन्त्री बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे। उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए। चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाए।

‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ। पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ। आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उनले भने।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिए। ‘अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ’, उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गरे। उनले भने, ‘घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ। आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु।’
 

प्रकाशित: Sep 29, 2023| 16:14 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्